१८ जेठ, काठमाडौं । मंगलबार काठमाडौं उपत्यकाका तीनै
जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । अघिल्लोपटक कोरोना महामारी
नियन्त्रणको लागि एक साता कडा निषेधाज्ञा जारी गरेका सीडीओहरुले आजको बैठकबाट
निषेधाज्ञा केही खुकुलो बनाउने निर्णयको तयारी गरेका छन् ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद
निरौलाले मंगलबारको बैठकमा पछिल्लो पटक लगाइएको निषेधाज्ञाको समीक्षा गर्दै
निषेधाज्ञा अहिलेकोभन्दा केही खुकुलो र व्यवस्थित गर्नेबारे छलफल हुने जानकारी दिए
।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद
पराजुलीले स्वास्थ्य मन्त्रालयका अधिकारीहरुसँग पनि परामर्श गरेर कोरोनाको ग्राफ
विश्लेषण गरी थप निर्णय लिने बताए । ‘आज बस्ने बैठकमा कोरोनाको हालको अवस्थाका बारेमा
स्वास्थ्य मन्त्रालयका अधिकारीहरुसँग पनि परामर्श गरेर आवश्यक निर्णय लिन्छौं,’
पराजुलीले
अनलाइनखबरसँग भने ।
पछिल्लो पटक खाद्य पसलहरुमा समेत लगाइएको
प्रतिबन्धले भिड धेरै हदसम्म नियन्त्रणमा आएको निष्कर्षमा अधिकारीहरु पुगेका छन् ।
अब खाद्य सामग्री बिक्रीमा केही खुकुलो र व्यवस्थित बनाउनेबारे तयारी छ ।
कोरोना संक्रमणको दर उच्च भएपछि उपत्यकामा
शुक्रबारदेखि एकसाताका लागि निषेधाज्ञामा कडाइ गरिएको छ । स्वास्थ्य मन्त्रालयले
हरेक दिन सार्वजनिक गर्ने तथ्यांकमा हाल संक्रमण दर केही घटेको देखिन्छ । तर
कतिपयले परीक्षण नै कम भएकाले संक्रमितको संख्या पनि कम भएको बताउने गरेका छन् ।
Post a Comment