KhabarSanchar

कविता "प्रियसीको पर्खाइ"


प्रियसीको पर्खाइ

अचम्म ....!

अचम्मलाइ पनि अचम्बित बनाउने अचम्म भएको छ आजभोली ।

परिवर्तनलाई पनि सोच्दा सोच्दै परिवर्तन बनाइदिने परिवर्तन आएको छ जिन्दगिमा...।

कहिले हिड्छु , अबिरल हिडिरहन्छु .......

शान्ती खोज्न हिडेको बुद्धझै

बत्तिको उज्यालो खोज्न हिडेको पुतलिझै

एकोहोरो दक्षिणतिर हिडिरहेको नदिको पानीझै

काम खोज्न हिडेको निमुखो मज्दुरझै

र........

सिकार खोज्न हिडेको भोको बाघझै ।

कहिले भौतारिन्छु , अस्वभाबिक भौतारीरहन्छु ..............

बाच्छो हराएको गाई झै

मदन हराएको मुनाझै

सीता हराएको रामझै

निन्द्रा हराएको पागल प्रेमिझै

र ........

बूढो स्वामी हराएकी गोमा ब्राह्मणिझै ।

कहिले झोक्राउछु एकोहोरो झोक्राइ रहन्छु ...........

जुवा हारेको जुवारीझै

गाजा खान नपाएको गजेडिझै

निश्चल प्रेममा धोका पाएको प्रेमीझै

हिउदे बिहानीको  सिमसिमे पानीमा भिजेको ढुकुरझै

र ...........

प्रदेशिएको छोरो सम्झेर बिरामी आमा झोक्राएझै ।

कहिले सुत्छु , अबिछिन्न सुतिरहन्छु...........

बिच समुन्द्रमा सर्पको बिछ्याउनामाथी भगवान बिस्णु सुतेझै

रामायणमा कुम्भकर्ण सुतेझै

र ............

कर्णाली किनारको चिहानमाथि चिर निन्द्रामा हजुरबा सुतेझै ।

म जे गर्छु तिमिलाइ कल्पेर गर्छु

तिम्रो सम्झनामा गर्छु

तिम्रो पर्खाइमा गर्छु ..........।

अब त अँखा थाकिसके

शरीर गलि सक्यो

मुहारको चमक उडिसक्यो ......

दिन बिते

महिना बिते

अनि ......

कैयन बर्षहरु पनि बितिसके...

तिम्रो पर्खाइमा

तिम्रो कल्पनामा

तिमी पाउने आशामा ......।

आउ ...........

अब त आउ........

मेरो अन्तिम सपनाका जमाराहरुमा पानी हाल्ने गरेर आउ

तिम्रै पर्खाइमा सुक्नै लागेको जीवन हरियाली बनाउन आउ

बर्सौदेखी तिम्रो ओठको लिपिस्टिकको पर्खाइमा बसेका मेरा गालाहरुलाइ सम्झेर आउ

पर्खाइमै लिलामी हुनलागेको यो जवानी जोगाउन आउ ..........

प्रिय पृयसी  ........

अब आउ

जसरी पनि आउ

पर्खाइलाइ सदासदाका लागि अन्त्य गर्दै आउ ........।

✍️ भानु ढकाल


प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post