KhabarSanchar

साउन १ बाट इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगरिने



काठमाडौं : साउन १ गतेबाट सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगरिने भएको छ। आर्थिक वर्ष २०७८/७९ को सुरुबाटै अनिवार्य भनिए पनि यातायात व्यवस्था विभागले अनिवार्य नहुने तर, जडान कार्यक्रम भने निरन्तर हुने जनाएको छ। 


विभागका प्राविधिक शाखाका निर्देशक रामचन्द्र पौडेलले इम्बोस्ड नम्बर अनिवार्य नहुने बताए साउनबाट सबै सवारीसाधनमा इम्बोस्ड नम्बरमा अनिवार्य हुँदैन, यो जडान कार्य २०७४ सालबाट नै जडान हुँदै आएको हो, निरन्तर जडान हुँदै जान्छ, हामीले अनौपचारिक सूचना मात्रै दिएका हौँ,’उनले भने।


उनका अनुसार साउन १ गते विभागले यसबारे राजपत्रमा सूचना प्रकाशित गर्ने छ। त्यसपछि मात्रै कुन प्रदेशको कहाँ जडान गर्ने भनी निर्णय गरिने छ। उनले भने,‘राजपत्रमा प्रकाशित भएपछि देशभरीकै सवारीसाधनमा इम्बोस्ड प्लेट जडान गर्ने व्यवस्था हुन्छ,थप के-के गर्ने पनि निर्णय आउँछ।


दुई पांग्रे सवारीसाधन यातायात व्यवस्था कार्यालयमा, मोटरसाइकल गुर्जुधारामा, तीन पांग्रे, साना मझौला चार पांग्रे सवारी परीक्षण कार्यालय, टेकु र ठूला सवारीका यातायात व्यवस्था कार्यालय, एकान्तकुनामा प्लेट जडान गर्न स्थान तोकिन सकिने उनको अनुमान छ।


जडान गर्न किन  आवश्यक छ ?
विभागका अनुसार इम्बोस्ड नम्बर प्लेट आधुनिक प्रविधिको प्रयोगमार्फत सवारीको नियमन गर्ने प्रणाली हो। यो धातुको प्लेटमा यान्त्रिक माध्यममार्फत अक्षर र अंक राखिन्छ।


प्राविधिक शाखाका निर्देशक पौडेलले यो एकरुपता नम्बर प्लेट हुने भएकाले यसको आवश्यकता रहेको बताए। उनले भने,‘इम्बोस्ड प्लेट जडान गरेपछि अरुले यसको नक्कल गर्न पाउँदैन,यो प्लेटमा रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन भन्ने नम्बर हुन्छ, यो नम्बरले कुन सवारी, कति नम्बरको सवारी, कहाँ छ,कस्तो अवस्थामा छ भनेर सजिलै पत्ता लगाउन सकिन्छ,त्यसैले यसको आवश्यकता छ।


उनले यो प्लेट जडान भएपछि प्लेटमै रेकर्ड राखिने हुँदा कर नतिरी चलेका सवारी ठाउँको ठाउँ नियन्त्रणमा लिन सकिने पनि दाबी गरे। उनले भने,‘यो प्लेट देशभरका सबै साधनमा जडान भएमा सवारीसाधन चोरीका घटना नियन्त्रण गर्न पनि सकिन्छयसबाट सवारी दुर्घटना कम हुने पनि विश्वास लिएका छौँ ।यो प्लेट जडान गरेपछि १० वर्ष बढी समय टिक्ने विभागको दाबी छ। 


कति शुल्क लाग्छ ?
विभागले प्लेट जडानका लागि शुल्क पनि तोकेको छ। प्राविधिक शाखा निर्देशक पौडेलले मोटरसाइकलमा इम्बोस्ड नम्बर जडान गर्न दुई हजार पाँच सय, तीन पांग्रे सवारीसाधनमा दुई हजार ९ सय, मझौला सवारीमा जडान गर्न ३ हजार २ सय रुपैयाँ शुल्क तोकिएको जानकारी दिए। त्यस्तै,बस र ट्रकमा तीन हजार ६ सय शुल्क लाग्ने उनले बताए।


पाँच हजारमा जडान सकियो
निर्देशक पौडेलले अहिले सम्म पाँच हजार सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिसकेको बताए। पाँच वर्षमा सबै सवारीसाधनमा यो प्लेट जडान गरिसक्ने लक्ष्य राखेका छौ,’उनले भने। चार वर्षअघिदेखि जडान सुरु भए पनि सर्वोच्च अदालतले रोक्न आदेश दिएपछि भने भने जसरी प्लेट जडान गर्न नसकिएको उनको भनाई छ।


उनका अनुसार अहिलेसम्म धेरै काठमाडौँ उपत्यकाभित्रका सवारीसाधनमा मात्रै जडान गरिएको छ। हाल भने सवारी परीक्षण कार्यालय, टेकुमा यो प्लेट जडान गरिदैँ आएको छ। देशभरका करिब २४ लाख भन्दा बढी सवारीसाधनमा प्लेट जडान गर्न बाँकी रहेको उनले बताए।
 

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post