KhabarSanchar

घट्दै सङ्क्रमण

 



काठमाडौँ, जेठ १ गते नेपालमा नयाँ कोरोना सङ्क्रमितको सङ्ख्या केही कम हुन थालेको छ। एकै दिन नौ हजारभन्दा बढी सङ्क्रमित फेला पर्ने गरेकोमा शुक्रबार देशभर आठ हजार ५२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। देशका अधिकांश भागमा लगाइएको निषेधाज्ञा र स्वास्थ्य मापदण्डमा गरिएको कडाइले कोरोना सङ्क्रमण थप वृद्धि नहुने देखिएको छ


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २० हजार ९४८ जनाको पीसीआर र एन्टिजेन विधिबाट कोरोना परीक्षण भएको थियो। पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ हजार ४६७ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५३ जना सङ्क्रमित थपिएका हुन्। यस्तै वितेको २४ घण्टामा थप २०३ जना सङ्क्रमितको मृत्यु भएको छ। अघिल्लो दिन २१४ जना सङ्क्रमितको मृत्यु भएको थियो। नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुने सङ्ख्या चार हजार ६६९ पुगेको छ


अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख सात हजार ३३६ पुगेको छ। मन्त्रालयका अनुसार शुक्रबार देशभरबाट छ हजार १३५ जना सङ्क्रमित निको भएका छन्। योसहित हालसम्म कोरोना निको हुनेको सङ्ख्या तीन लाख २७ हजार ६५३ पुगेको छ। निको हुने दर कूल सङ्क्रमितको ७४ दशमलब ५ प्रतिशत हो


काठमाडौँ उपत्यकामा थप तीन हजार ३४९ जना कोरोना सङ्क्रमित थपिएका छन्। उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा दुई हजार ४५८, भक्तपुरमा ३३५ र ललितपुरमा ५५६ जना गरी थप तीन हजार ३४९ जना थपिएका हुन्। हाल एक हजार ३३४ जना आईसीयू र ३७१ जना सङ्क्रमित भेन्टिलेटरमा उपचार गराइरहेका छन्


मन्त्रालयका अनुसार प्रदेश १ मा १९० आईसीयू र ५५ भेन्टिलेटरमा, प्रदेश २ मा १८९ आईसीयू र ४० जना भेन्टिलेटर, बागमती प्रदेशमा ५४२ आईसीयू र २२० जना भेन्टिलेटरमा छन्। यस्तै गण्डकी प्रदेशमा ९२ जना आईसीयू र १९ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १६४ जना आईसीयू र १६ जना भेन्टिलेटरमा, कर्णालीमा १०८ जना आईसीयू र ६ जना भेन्टिलेटरमा तथा सुदूरपश्चिम प्रदेशमा ४९ जना आईसीयू र १५ जना भेन्टिलेटरमा छन्


कोरोनाको उपचार हुने काठमाडौँ उपत्यकाका अस्पतालमा २९० जना सङ्क्रमित आईसीयू र भेन्टिलेटरमा रहेको छन्। यस्तै एक हजार ८२५ जना सङ्क्रमित आइसोलेसनमा उपचाररत छन्


सिफारिस जरुरी
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सकको सिफारिसबिना घर वा संस्थामा अक्सिजन सिलिन्डर नराख्न आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार सचिवस्तरको बैठकले उक्त निर्णय गरेको हो। मन्त्रालयले घर वा संस्थामा भएका सिलिन्डर नजिकको अस्पताल वा स्थानीय प्रशासनमा उपलब्ध गराउन पनि आग्रह गरेको छ। कोरोना महामारी बढ्दै जाँदा धेरै व्यक्तिहरूले आफूखुसी अक्सिजन सिलिन्डर घरमा मौज्दात राख्ने हुँदा मन्त्रालयले यस्तो आग्रह गरेको हो


फारम भर्न आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड विरुद्धको खोप लगाउन चाहने १८ वर्षमाथिका व्यक्तिहरू आफैले प्रि रजिस्ट्रेसन फाराम भर्न आग्रह गरेको छ

मन्त्रालयले खोप लगाउन चाहने व्यक्तिका लागि एप तयार पारेको जानकारी गराएको छ। मन्त्रालयले आवेदन फारामबाट प्राप्त भएका विवरण पालिका स्तरमा खोपसँग सम्बन्धित योजना तथा व्यवस्थापन गर्न पनि सहज हुने जनाएको छ। भ्याक्सिन डट एमओएचपी डट एनपीमा गई विवरण भर्न सकिन्छ। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले उक्त विवरण भरेका आधारमा खोप आएपछि लगाउन सकिने जानकारी दिनुभयो उहाँले जुन व्यक्तिले पहिले भरेको छ, त्यही आधारमा खोप लगाउन पाइने स्पष्ट पार्नुभयो। जुन व्यक्तिले सुरुमा फाराम भर्छ त्यही आधारमा पहिले खोप लगाइने उहाँको भनाइ  
 

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post