बाँके, ६ असार– कोरोना भाइरस महामारी सङ्क्रमणको
केन्द्रविन्दु बनेको बाँकेमा अहिले अवस्था सामान्य भएको छ । यहाँका अस्पतालमा ७४
जना बिरामी मात्र उपचाररत छन् ।
कोरोनाको उपचार हुँदै आएका बाँकेका अस्पतालमा हाल
उपचाररत ७४ मध्ये बाँके जिल्लाका १३ जनामात्रै रहेको जिल्ला कोभिड सङ्कट
व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।
उनका अनुसार बाँकेमा कोरोना सङ्क्रमण दर घट्दै
गएपछि अस्पतालमा कोराना बिरामीका लागि छुट्याइएका शय्या खाली हुँदै गएका छन् ।
बाँकेका कोभिड अस्पतालका ३६१ कोभिड शय्यामध्ये ७४
जना मात्र उपचाररत छन् भने ८० प्रतिशत शय्या खाली भएका छन् । बाँकेका साना–ठूला चार अस्पतालले
कोभिड कक्षका लागि छुट्याएका ३६१ शय्यामध्ये २७१ शय्या खाली भएका छन् ।
नेपालगञ्जस्थित भेरी अस्पतालको २०० शय्यामा १२५
शय्या खाली भएको छ । भेरी अस्पतालमा उपचाररत ६० बिरामीमध्ये १८ जना
सिकिस्त छन् । कोहलपुरस्थित शिक्षण अस्पतालमा कोभिड वार्डका १३० शय्या
छुट्याइएकामा ११६ खाली छन् ।
उक्त अस्पतालमा उपचाररत १४ बिरामीमध्ये आठ
सिकिस्त रहेको स्रोत व्यक्ति वलीले बताए । वेष्टर्न अस्पतालमा १६ शय्यामा १५ शय्या
खाली भएको छ । युनाइटेड अस्पतालमा १५ शय्या छुट्याइएकामा सबै खाली भएको छ ।
बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण उपचारका
लागि जिल्ला बाहिरबाट आएका ३४७ र जिल्लाकै ३१० गरी ६५७ जनाको मृत्यु भएको छ ।
Post a Comment