कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय
कञ्चनपुरले रासायनिक मल डिएपीको कोटा निर्धारण गरी उपलब्ध गराउने भएको छ ।
कम्पनीको प्रादेशिक कार्यालय भैरहवाबाट प्राप्त हुने ३०० मेट्रिक टन मलको प्रतिशत
निर्धारण गरी नौवटै स्थानीय तहलाई उपलब्ध गराउने व्यवस्था गरेको हो ।
कोटामा निर्धारण भएको अनुपातअनुसार सहकारी
संस्थालाई सिफारिसबमोजिम मल उपलब्ध गराइने शाखा कार्यालयका निमित्त कार्यालय
प्रबन्धक बलबहादुर शाहले बताए ।
कार्यालयले जारी गरेको सूचनाअनुसार भीमदत्त
नगरपालिकालाई निर्धारित कोटाअनुसार ५९४ बोरा (२९ दशमलव सात मेट्रिक टन), वेदकोट नगरपालिकालाई
५४० बोरा (२७ मेट्रिक टन) र शुक्लाफाँटा नगरपालिकालाई ५४० (२७ मेट्रिक टन) मल
उपलब्ध गराइनेछ ।
यसैगरी कृष्णपुर नगरपालिका, बेलौरी नगरपालिका र
पुनर्वास नगरपालिकालाई ७०२ बोराका दरले (३५ दशमलव १०० मेट्रिक टनका दरले) तथा
दोधारा चाँदनी नगरपालिका, लालझाडी गाउँपालिका र बेलडाँडी गाउँपालिकालाई ५४०
बोराका दरले (२७ मेट्रिक टन) उपलब्ध गराइनेछ । स्थानीय तहले वडाअनुसार मलखाद
बिक्री वितरण गर्ने सहकारीको छनोट गरी मल बिक्री वितरणको व्यवस्था मिलाएका छन् ।
जग्गाको क्षेत्रफल, किसानको सङ्ख्यालाई आधार बनाई वडावडामा सोहीअनुसार मलको कोटा निर्धारण
गरिएको छ ।
मलको मागअनुसार आपूर्ति थोरै भएको किसानको गुनासो
छ । मलको अभाव हुन थालेपछि किसानले भारतबाट अवैधरूपमा भित्र्याइएको रासायनिक मल
प्रयोग गर्न बाध्य छन् ।
वर्षा हुने क्रमसँगै कञ्चनपुरमा धान रोपाइँको काम
शुरु भएको छ । महाकाली सिँचाइको नहरको पहुँच पुगेका क्षेत्रमा भने वैशाखको अन्तिम
हप्तादेखि रोपाइँ शुरु भएको थियो । धानको खेती हुने कूल जग्गाको १५ प्रतिशत
जग्गामा हालसम्म रोपाइँको काम गरिएको छ ।
Post a Comment