प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति
शेरबहादुर देउवाले बहुमतको सरकार निर्माणका लागि राष्ट्रपति समक्ष दाबी पेस गर्ने
भएका छन् । देउवाले काँग्रेस, माओवादी केन्द्र र जसपाको समर्थनमा
प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निवेदन दिन
लागेको काँग्रेस नेता रमेश लेखकले जानकारी दिए ।
उनले भने, ‘बहुमतको सरकारका लागि आज दाबी गर्न
जान्छौँ । त्यसको तयारी भइरहेको छ । बहुमतको जोडघटाउका लागि विभिन्न तहमा विभिन्न
नेताहरुसँग छलफल पनि जारी छ ।’
देउवाले तीन दलको छलफलमा महामन्त्री पूर्णबहादुर
खड्का, संसदीय
दलका प्रमुख सचेतक बालकृष्ण खाण, नेता ज्ञानेन्द्र कार्की र रमेश लेखकलाई खटाइएको
बुझिएको छ ।
मंगलबार महन्थ ठाकुरसँग खाण र कार्कीले छलफल
गरेका थिए । ठाकुरका सम्धी उमाकान्त झाको निवासमा उनीहरुबीच छलफल भएको थियो ।
देउवाले आन्तरिक र बाह्य परिस्थिति आफू अनुकुल
बनाउन सोमबार यता आफूनिकट नेताहरुलाई छलफलका लागि परिचालन गरिरहेको बूढानीलकण्ठ
स्रोतले जानकारी दियो ।
देउवा आफैंले पनि प्रधानमन्त्री केपी ओली इत्तर
पक्षका शीर्ष नेतासँग छलफल गरिरहेका छन् । मंगलबार काँग्रेस सभापति देउवाले
विपक्षी दल माओवादी केन्द्र र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग
छलफल गरेका थिए ।
काँग्रेस नेता रमेश लेखकका अनुसार संविधानको धारा
७६ को २ अनुसार सरकार निर्माणका सन्दर्भमा देउवा निवास बूढानीलकण्ठमा मंगलबार
विहान देउवा, प्रचण्ड र उपेन्द्र यादवबीच छलफल भएको थियो ।
उनीहरुबीचको छलफलपछि दिउँसो ३ बजे बसेको काँग्रेस
पदाधिकारी बैठकले ७६ को २ बमोजिम सरकारको दाबी गर्ने निर्णय भएको छ ।
देउवाले मंगलबार राति नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल पक्षसँग
पनि छलफल गरेका थिए । देउवासँग छलफल गर्न माधवकुमार नेपाल र भीम रावल बूढानीलकण्ठ
पुगेका थिए । उनीहरुले बहुमतको सरकार निर्माणका लागि सहजता प्रदान गर्न आफूहरु
तयार रहेको आश्वासन देउवालाई दिएका थिए । त्यसयता पनि देउवाले शीर्ष नेतासँग
टेलिफोन संवाद जारी राखेका देउवाको सचिवालयले जनाएको छ ।
देउवाले जसपाको ठाकुर–महतो पक्षसँग गठबन्धनको सरकार निर्माणका
लागि सहमति खोज्ने कुरामा प्राथमिकता दिएका छन् । त्यसका लागि महामन्त्री खड्काले
जसपा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग संवाद जारी राखेका
छन् ।
बुधबार पनि खड्का र भट्टराई टेलिफोन संवाद भएको
थियो । त्यसपछि भट्टराईको अग्रसरतामा जसपा पदाधिकारी बैठकमा सत्ता समीकरणबारे छलफल
भएको थियो । आज पार्टीभित्र थप छलफल गरेर एकीकृत निर्णय दिने उनको भनाइ छ ।
छलफलपछि बहुमतको सरकार निर्माणका लागि ठाकुर केही
सकारात्मक भएको काँग्रेस नेताहरुको भनाइ छ । बुधबार प्रधानमन्त्री ओली र
राष्ट्रपति भण्डारीलाई बहुमतको सरकार गठनको विपक्षमा जनाउ दिएका ठाकुरले
काँग्रेस नेतासँग छलफलमा आफ्ना माग सम्बोधनको ग्यारेन्टी भए सोच्न सकिने जवाफ
दिएका थिए ।
सत्ता समीकरणबारे पार्टी बैठकमा छलफल गर्न समेत
अरुचि देखाउँदै आएका ठाकुरले बुधबारमा केही नरम देखिएको जसपा स्रोत बताउँछ ।
विपक्षी दलका नेतासँग काँग्रेस नेताहरु नियमित
संवादमै रहेको बुझिएको छ । चार पार्टीका नेताबीच आज भेटवार्ता हुने भएको छ ।
अहिलेसम्म ठाउँ भने तय भइनसकेको काँग्रेस स्रोतले जनायो ।
Post a Comment