KhabarSanchar

निषेधाज्ञामा के गर्दैछन् कलाकार ?

 


नेपालमा कोभिड १९ को दोस्रो लहरका कारण संक्रमण दर तिव्र रुपमा बढिरहेको छ । संक्रमण बढेसँगै सरकारले बैशाख २९ गतेसम्म निषेधाज्ञा लागू गरेको छ । निषेधाज्ञा कहिलेसम्म लम्बिने हो, एकिन छैन । पहिलो चरणको लकडाउन सकिएसँगै विस्तारै लयमा फर्किन थालेको मनोरञ्जन क्षेत्र फेरि थला परेको छ ।


यसले, नेपाली मनोरञ्जन क्षेत्रका कलाकर्मीलाई पनि असर परेको छ । घरमै निषेधाज्ञाको पालना गरेर बसेका केही कलाकर्मीसँग हामीले लकडाउनको समयमा कसरी दिन बिताइरहनुभएको छ भनेर सोधेका छौं।
 
दीपाश्री निरौला (कलाकार तथा निर्देशक)
कलाकार तथा निर्देशक दीपाश्री निरौला काठमाडौंस्थित घरमै बसिरहेकी छिन् । निषेधाज्ञाअघि बिहान उठेपछि हिँडेर पशुपतिनाथ मन्दिर पुग्थिन् । निषेधाज्ञायता विहान उठेपछी घरमै प्राणायाम गर्छिन् । केही पाना श्रीमद् भागवत पढ्छिन ।


खाना खाएपछि दिउँसोको समय चलचित्र हेर्ने, कमेडी तथा डान्सिङ् कार्यक्रमहरु हेर्ने, आफन्त तथा साथीहरुसँग भिडियो कलमा कुराकानी गर्ने गरेर समय बिताइरहेको बताउँछिन् । भन्छिन्, ‘अहिले अधिकांश समय मोबाइलमै बित्छ । साथी नै मोबाइल भएको छ ।


गतवर्ष कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनमा निकै छट्पटी भएको थियो । सो समय उनलाई कामकै चिन्ता हुन्थ्यो । यसवर्ष भने मानसिक रुपमा तयार रहेको दीपाश्रीले बताइन् ।


कोरोनाको दोस्रो लहरले नेपालका अस्पतालमा बेड नभएको समाचार पढिरहेकी हुन्छिन् । उनले चिनेका कतिपय व्यक्तिको कोरोनाकै कारण मृत्यु भएको छ । यस्तो अवस्थामा सबैजना थप सचेत हुनुपर्ने बताउँछिन् ।
उनले भनिन्, ‘यसपालीको भेरियन्त्र जोखिम छ । एउटाले गर्दा परिवारमा जोखिम हुनसक्छ । त्यसैले केही होइन् भनेर नहिँडौं । सबैजनाले घरमै बसेर महामारी नियन्त्रणमा ध्यान दिऔंं ।


स्किृप्ट लेखनमा बढी समय बित्छ : कुमार कट्टेल (जिग्री)
हास्य कलाकार कुमार कट्टेल (जिग्री) निषेधाज्ञासँगै ललितपुरस्थित घरमा बसिरहेका छन् । उनको लेखन-निर्देशन तथा अभिनय रहने हाँस्य टेलिसिरियल सक्किगोनिको छायाँकन निषेधाज्ञाका कारण हुन सकिरहेको छैन ।


अनुकूल समयमा सक्किगोनिकै तयारीमा उनको अधिकांश समय ब्यतित भईरहेको हुन्थ्यो । निषेधाज्ञासँगै खाली समयलाई भने उनले विभिन्न चलचित्रहरु हेर्ने, टेलिसिरियल, चलचित्रको स्किृप्टमा समय बिताईरहेका छन्।


आफूले काम गरिरहेको हास्य भन्दा फरक विषयवस्तुमा पनि टेलिसिरियल निर्माण गर्ने सोँच भएका कारण त्यसको स्किृप्टमा समेत तयारी गरिरहेको कुमारले बताए ।


त्यस्तै, ‘सक्किगोनिसमूहले बनाउने भनेको चलचित्रको स्किृप्टमा पनि अहिले समय दिईरहेको उनी बताउँछन् । दुई चारवटा स्टोरी दिमागमा छ । त्यसमध्ये कुन राम्रो, त्यसलाई फाइनल गर्ने तयारी गरिरहेको छुउनले भने ।
उनका अनुसार कमेडी जनरामा सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर चलचित्र बनाउने टिमको सोँच अनुसार स्किृप्टमा ध्यान दिएको बताउँछन् । यो चलचित्रको तयारी शुरु भएको भने धेरै समय भयो ।


गतवर्ष लकडाउनमा चलचित्रको तयारी गर्न मन थियो । चितवन रंगशालामा धेरै समय विताइयो । सिरियल शुरु भएपछि हप्तैपिच्छे त्यसकै तयारीमा समय बित्छकुमारले अगाडी भने, –‘अहिले समय मिलेको छ । यो समयमा आफ्नै रोकिरहेका प्रोजेक्टमा सदुपयोग गरौं भनेर काम गरिरहेको छु ।


कोरोना संक्रमणको कारण परिस्थिति विषम बन्दै जाँदा आफू वा सक्किगोनिले पनि केही सहयोग गर्न पाएँ भन्ने लागिरहेको बताउँछन् । उनी पनि कोरोना केही होइन भनेर हेलचेक्राइ नगर्न सबैलाई आग्रह गर्छन् ।


गाउँमा छु, त्रास कम छ : पशुपति शर्मा
गतवर्षको लकडाउन गायक पशुपति शर्माले घर स्याङजामा बिताएका थिए । यसवर्ष निषेधाज्ञामा पनि उनी स्याङ्जामा छन् । परिवार स्याङ्जामा छौंउनले भने । उनी बिहान उठेपछि केही समय व्यापाम गर्छन् । व्याडमिन्टन खेल्छन् ।


घरायसी काम खासै केही छैन्उनले भने दिउँसोको समय सामाजिक सञ्जालमा सक्रिय हुने तथा परिवारसँग गफ गरेर बित्छ ।


केही वर्ष पहिलेसम्म उनि ईन्टरनेटमा उतिसाह्रो सक्रिय थिएनन् । हिजोआज समाचारहरु पढने, टिकटक बनाउने, फेसबुकमा स्टाटस पोष्ट गर्ने गर्छन् ।
उनी चलचित्र खासै हेर्दैनन् । बरु पुस्तक पढ्न रुचाउँछन् । तर, अहिले पुस्तक बोकेर लैजान बिर्सिएको उनले बताए ।


पशुपतिले केही दिनअघि मात्र नयाँ गीत सार्वजनिक भएको थियो । अहिले घरमा हुँदा सिर्जनातर्फ पनि ध्यान नभएको उनले बताए ।गाउँमा कोरोनाको त्रास भने कम रहेको पशुपति बताउँछन् । घर सामाजिक दुरीमै रहेका हुन्छन । भेटघाट गर्दा घरबाहिर दुरी कायम गरेर बस्छौं । त्यसैले बजारमा भन्दा गाउँमा अहिलेसम्म त्रास कम छउनले सुनाए । टोल, छिमेकमा गतवर्षभन्दा यसवर्ष मानिसहरु बढी सचेत रहेको आफूले पाएको पशुपतिले सुनाए ।


अहिले पढाईमा ध्यान दिएकी छु : रचना रिमाल
काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुँदा रचना रिमाल काठमाडौंमै थिइन् । निषेधाज्ञाको पहिलो दिन पनि गीत रेकर्ड गराएकी थिइन् ।


दिदीसहित काठमाडौंमा बस्दै आएकी रचनालाई परिवारले घरमा आउन आग्रह गरेका थिए । यातायात बन्द भईसकेको थियो, हवाइ उडान खुला थियो । निषेधाज्ञाको अर्को दिन हवाई उडानमार्फत घर झापा पुगिन रचना ।
अहिले घरमा रमाईलोका साथ समय बितिरहेको रचनाले बताइन् । रचना झापाकै एक विद्यालयमा कक्षा १२ मा भर्ना भएकी थिइन् । यद्यपी, गतवर्षदेखि सांगीतिक क्षेत्रमा ब्यस्त हुँदा पढाइमा समय दिन पाएकी थिइनन् । अहिले उनी पढाइमै बढी समय दिईरहेको बताउँछिन् ।


उसो त हिजोआज पनि रचनाका गीतहरु सार्वजनिक भईरहेका छन् । निषेधाज्ञाअघि रेकर्ड भएर अहिले सार्वजनिक भएका ति गीतको प्रमोशन पनि गरिरहेकी हुन्छिन् । पढ्दा अल्छी लाग्यो भने मोबाइल हेर्छिन्, टिकटक बनाउँछिन्, खेतबारीमा पुग्छिन् । साँझको केही समय भने ब्याडमिन्टन खेल्छिन् ।


गाउँमा कोरोनाको त्रास काठमाडौंमा भन्दा कम रहेको उनले बताइन् । यद्यपी सबैजना सचेत रहेको उनले बताइन् । भनिन्, ‘घरमा ममीबाबा, दिदी बहिनीलाई पनि बाहिर ननिस्किन भनिरहेकी हुन्छु । म आफू पनि बाहिर हिँडेकी छैन् ।


आकाश श्रेष्ठ, अभिनेता
अभिनेता आकाश श्रेष्ठले निषेधाज्ञा भएसंगै केही दिन काठमाडौंमा बिताए । उनको परिवार दाङ्मा, उनी एक्लै काठमाडौंमा बसिरहेका थिए । निषेधाज्ञा हुनुअघि काममै व्यस्त थिए । निषेधाज्ञा भएपछि घर फर्किने बन्दोबस्दो मिलिरहेको थिएन् । काठमाडौंमा एक्लै समय व्यतित गर्न गाह्रो भएको थियो । गत आइतबार घरमा आइपुगेको छुदाङमा रहेका आकाशले सुनाए अहिले छुट्टै कोठामा सुरक्षित बसेको छु ।महामारीको समयमा परिवारसँग भएपछि ढुक्क हुने बताए ।


काठमाडौंमा हुँदा निषेधाज्ञाको समयमा सामाजिक सञ्जालमै दैनिकी बिताएका थिए । घरमा हुँदा निषेधाज्ञाको बाँकी दिनहरु चलचित्र हेर्ने, पुस्तक पढने, सामाजिक सञ्जालमा सक्रिय रहेर बिताउने सोँचेका छन् । त्यस्तै, आफ्नो ठाउँमा कोरोना महामारीको यो विषम परिस्थितिमा सामाजिक काम गर्ने सोँचेका छन् ।


रेखा जोशी, गायिका
देउडा गीतमा निकै रुचाइएकी गायिका रेखा जोशी काठमाडौंमा कोठाभित्रै बसिरहेकी छिन् । अहिले निषेधाज्ञामा आफू निकै सचेत भएर बसिरहेको उनले बताइन् । यो समय किताव पढ्ने, फेसबुक चलाउने, गीतहरु सुन्ने÷हेर्ने गरेर बितिरहेको बताइन् ।


आफ्ैले गाएका गीतहरु पनि आनन्दले सुन्न पाइदैनथ्यो । अहिले आफ्ना, अरुका गीतहरु रिपिट गरेर सुन्ने÷हेर्ने गरिरहेकी हुन्छुउनले भनिन्, ‘चलचित्र खासै नहेर्ने मान्छे, हिजोआज चलचित्र पनि हेर्न थालेकी छु ।


उनि अहिलेको कोरोनाको नयाँ भेरियन्टसँग डर लागेको बताइन् । गतवर्ष शुरुमा त्रास थियो । बिस्तारै पछिपछि कोरोना केही होइन, हामीलाई केही हुँदैन् जस्तो लाग्थ्योउनी भन्छिन्, ‘अहिले साँच्चिकै डर लागिरहेको छ । अहिले नजिकका चिनेका व्यक्तिहरुको समेत संक्रमणबाट मृत्यु भएको छ ।


उनी सरकारले निषेधाज्ञा लागू गरेको जनताकै लागि भएकोले त्यसलाई सबैले पूर्णरुपमा पालना गर्न आग्रह गर्छिन् । स्वास्थ्यलाई ध्यान दिई महामारीबाट बच्न अहिले सबैले ध्यान दिनुपर्ने उनी बताउँछिन् ।

मोटिभेशनल भिडियोहरु पनि हेरिरहेकी हुन्छिन् । टिकटक आफू बनाउँदिनन्, अरुका टिकटक हेर्दा भने समय बितेको पत्तै हुँदैन् उनलाई ।

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post