KhabarSanchar

अक्सिजन र खोप आपूर्तिमा सहयोग गर्न एशियाली राष्ट्रसँग प्रधानमन्त्रीको आग्रह

 


काठमाडौं, जेठ १२ गते  प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ लाई परास्त गर्न एकीकृत प्रयास आवश्यक रहेको बताउनुभएको छ ।  फिउचर अफ एशियासम्बन्धी २६ औं अन्तर्राष्ट्रिय सम्मेलनको भर्चुअली सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो– “एक अर्कासँग जोडिएको विश्वमा सबैजना सुरक्षित नरहेसम्म कोही सुरक्षित रहन्न ।


उहाँले कुनै एक सरकार वा समाज मात्रैको प्रयासबाट कोभिड १९ रुपी संकटबाट पार पाउन अपर्याप्त हुने बताउनुभयो । प्रधानमन्त्री ओलीले कोभिड १९ लाई परास्त गर्न सबैका लागि समग्र क्षेत्र र समग्र विश्वकै एकीकृत प्रयासको आवश्यकता औंल्याउनुभयो । खोपको समान पहुँचका लागि ठोस कदम आवश्यक रहेको बताउनुहुँदै उहाँले कोरोनापछि छोटो, मध्यम र लामो समयका लागि रणनीति तयार गरी अगाडि बढ्न आग्रह गर्नुभयो ।


बिकासका लागि अझै बढी समन्वय र सहकार्य, दीगो बिकास लक्ष्य पाउन बिस्तृतमा ध्यान केन्द्रित गर्नुपर्ने, जलवायु परिवर्तनको प्रकोप रोक्न सुदृढ कार्य, अन्तर्राष्ट्रिय सीमा भएर अति कम बिकसित राष्ट्रहरुका लागि ब्यापारका अझै बढी अबसर, सुबिधाजनक लगानी र प्रबिधिको हस्तान्तरण आवश्यक हुने प्रधानमन्त्री ओलीले बताउनुभयो ।


बिगत्को दुई सय वर्षमा विश्वका सबैजसो भूभाग समृद्धितिर जाँदा हामी अपवादमा रह्यौं तर पछिल्लो केही दशकमा एशियामा एतिहासिक रुपान्तरण भएको छ, एशियाको मूल्य मान्यताको वजन बढ्दै गएको छ । उहाँले बताउनुभयो ।


सम्मेलनमा प्रधानमन्त्री ओलीले नेपालमा दैनिक आठ हजार सङ्क्रमित थपिदै गएको चिन्ताको विषय भएको बताउनुभयो । उहाँले सहयोगका लागि विश्व समुदाय समक्ष आग्रह गरेको र आग्रह बमोजिम सहयोग समेत आउन सुरु भएको बताउनुभयो । यद्दपी उहाँले अक्सिजन र खोप अत्यन्त आवश्यक रहेको हुँदा छिमेकी राष्ट्रहरुको सहयोग र समर्थनको लागि आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post