KhabarSanchar

कलाकार आफ्नै युटुब च्यानलमा सक्रिय



कुनै समय थियो, चलचित्रमा काम गर्ने कलाकारलाई आफ्नो प्रचार गर्नका लागि विभिन्न पत्रिका, टेलिभिजन र रेडियोका केही कार्यक्रम, पत्रिकाका कला सम्बन्धी स्तम्भमा भर पर्नुपथ्र्यो ।


तर, डिजिटल यूगमा प्रविधीले नयाँनयाँ फड्को मारेको छ । पछिल्लो केही बर्षदेखि नेपालमा युटुब प्रचारको मात्र होइन, आम्दानीको पनि राम्रो माध्यम बनिरहेको छ । यसैले, चलचित्र सम्बन्धी विधालाई नै समेटेर सयौं च्यानल चलिरहेका छन् ।


यी च्यानलमा नेपाली चलचित्रका कलाकारहरुका हजारौं अन्तरवार्ता देख्न सकिन्छ । सामाजिक संजालमा सक्रिय रहेका नेपाली चलचित्रका कलाकारहरु युटुबमा पनि उस्तै सक्रिय रुपमा प्रस्तुत हुन थाले । यतिसम्म कि, कलाकारले कुन च्यानलमा अन्तरवार्ता दिने भन्ने समेत भेउ पाउन सकेनन् । जसलेगर्दा, कलाकारहरु सस्तिएको भन्दै आलोचना पनि भयो ।
तर, नेपाली चलचित्रका कलाकारहरुले आफ्ना कुरा राख्नदेखि आफ्ना दैनिक गतिविधीलाई दर्शकमाझ ल्याउनका लागि अरुले संचालन गरेका युटुबलाई मात्र केन्द्रमा राखेनन् । विगत केही बर्षदेखि कलाकारहरु आफ्नै युटुब च्यानल खोलेर आफ्ना बारेमा सामाग्रीहरु दर्शकमाझ ल्याउन व्यस्त छन् ।


युटुबरहरु कलाकारको बेडसम्म पुगेको भन्दै आलोचना भैरहँदा पछिल्लो समय कलाकारहरुले नै आफ्नो किचनदेखि बेडसम्मका भिडियो युटुबमा अपलोड गर्न थालेका छन् ।


यसमा विशेषगरि, नायिकाहरुको सक्रियता बढी देखिएको छ । पहिलो चरणको लकडाउनको समयमा केही नायिकाहरुले अन्य युटुब च्यानलमा अन्तरवार्ता नदिने भन्दै आफै युटुब च्यानल संचालन गरे ।


हुनत, कलाकारहरु धेरै सस्तो हुन नहुने र जहाँ पनि सहजै उपलब्ध हुन नहुने खालका तर्क चल्ने गर्छन् । यसैले पनि कलाकारहरुले आफ्नो स्टारडमलाई जोगाउन नसकेको भन्दै आलोचना हुने गरेको छ । आफ्नै युटुब च्यानल खोलेर कलाकारहरु झनै सहज रुपमा दर्शकमाझ आउन थालेका छन् ।


कसकसको छ युटुब च्यानल ?
नेपाली चलचित्रमा काम गर्ने कलाकारहरुमा नायिकाहरु युटुबमा बढी सक्रिय छन् । यसमा नायिका प्रियंका कार्कीदेखि स्वस्तिमा खड्कासम्म छन् ।


सन् २०१९ सेप्टेम्बर ६ तारिखमा नायिका वर्षा राउत र नायक संजोग कोइरालाले युटुब च्यानल संचालन गरे । सान्सानाम दिएर उनीहरुले संचालन गरेको युटुब च्यानलमा २ लाख ५ हजार सब्सक्राइबर छन् । उनीहरुले ३० वटा भिडियो पोष्ट गरेका छन् । वर्षा र संजोगले आफ्नो युटुब च्यानलमा घुमफिरका भ्लगहरु पोष्ट गर्ने गरेका छन् । हनिमुन मनाउन यूरोप गएकादेखि काठमाण्डौमा घुमफिर गर्दै गरेकासम्मका भिडियो उनीहरुको युटुब च्यानलमा हेर्न सकिन्छ । नायिका वर्षा राउत पहिलो चरणको लकडाउनमा विवादमा पर्दा संजोगले आफ्नै च्यानलमार्फत स्पष्टिकरण समेत दिएका थिए ।


नायिका प्रियंका कार्की पनि युुटुबमा निकै सक्रिय छिन् । उनले सन् २०१९ को जुन १४ मा पहिलो भिडियो पोष्ट गरेकी थिइन् । यसपछि, उनको युटुबमा भ्लगदेखि चपचप डायरीनामक शो नै हेर्न सकिन्छ । प्रियंकाले गर्भवती भएपछि पनि भ्लगहरु बनाएकी छिन् । प्रियंकाले केही कलाकारसँग आफ्नो युटुब च्यानलमा अन्तरवार्ता समेत लिएकी छिन् । उनको च्यानलमा २ लाख २२ हजार सब्सक्राइवर पुगिसकेका छन् । विशेषगरि, चलचित्रमा क्रेज कमजोर हुँदै गएपछि प्रियंकाले आफ्नो बारेमा थुप्रै जानकारी युटुबबाट दिन थालेको भन्दै टिप्पणी हुने गरेको छ ।


अर्की, नायिका ऋचा शर्माले सन् २०१८ को सेप्टेम्बर १५ बाट युटुब च्यानल संचालनमा ल्याएकी हुन् । तर, उनी युटुबमा सक्रिय रुपमा लागेको भनेको ७ महिना मात्र भयो । आफ्नो बिहेको भिडियो पोष्ट गरेपछि ऋचाले युटुबलाई सक्रिय रुपमा संचालन गरिरहेकी छिन् ।


ऋचाले आफ्नो च्यानलमा खानेकुरा पकाउने तरिकादेखि गर्भवती भएपछि केही भिडियोहरु पोष्ट गरेको देख्न सकिन्छ ।


नायिका केकी अधिकारीले पनि आफ्नै युटुब च्यानल संचालनमा ल्याएकी छिन् । हालसम्म, उनको युटुब च्यानलमा १३ वटा भिडियो पोष्ट भएका छन् । केकीले सन् २०२० को मे ९ मा पहिलो पटक आफ्नो च्यानलमा भिडियो अपलोड गरेकी थिइन् । कोरोनाका कारण पहिलो चरणको लकडाउन भएपछि केकीले युटुब च्यानल संचालनमा ल्याएकी हुन् । केकीले आफ्नो च्यानलमा कोभिडको बिषयमा विभिन्न विज्ञसँगको अन्तरवार्ता, रीमा विश्वकर्मासँगको भिडियो अपलोड गरेको देख्न सकिन्छ । तर, केकीको युटुबमा वर्षा, प्रियंका र ऋचाको जस्तो भ्यूज भने देखिदैन ।


नायिका रीमा विश्वकर्मा पनि युटुबमा सक्रिय छिन् । उनले, संचालन गरेको युटुबमा ५६ हजार भन्दा बढी सब्सक्राइवर छन् । रीमाले सन् २०१९ को जनवरी २४ बाट युटुब च्यानल संचालनमा ल्याएकी थिइन् । उनको च्यानलमा पनि घुमफिरको भ्लग, केकीसँगको कुराकानी र फ्यानसँगको प्रश्नोत्तर हेर्न सकिन्छ । रीमाले युटुबमा आजसम्म ४८ वटा भिडियो पोष्ट गरेपनि उनको भिडियोले पनि उल्लेख्य भ्यूज पाएका छैनन् ।


नायिका स्वस्तिमा खड्काले ११ महिना अगाडिबाट युटुब च्यानल संचालनमा ल्याइन् । उनको युटुब च्यानलमा आजसम्म ६ वटा मात्र भिडियो अपलोड भएका छन् । जसमा, म्यूजिक भिडियो, फ्यानसँगको प्रश्नोत्तर, फोटोसुट हेर्न सकिन्छ । स्वस्तिमाको युटुब च्यानलमा भ्यूज सुखद छ । तर, उनी युटुबमा खासै सक्रिय रुपमा लाग्न नसकेको देख्न सकिन्छ ।


नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले पनि लकडाउनको समयमा युटुब च्यानल संचालनमा ल्याएकी थिइन् । विशेषगरि, आफूले दिएको अन्तरवार्तालाई अतिरन्जित हेडलाइन बनाएर पैसा कमाएको भन्दै उनी युटुबरहरुसँग आक्रोशित भएकी थिइन् । पहिलो चरणको लकडाउनमा युटुबरको बिषयमा आक्रोशित भिडियो तयार गर्दै इन्स्टाग्राममा पोष्ट गरेकी साम्राज्ञीले ७ महिना अगाडि आफ्नै नाममा युटुब च्यानल संचालन गरेकी थिइन् ।


तर, आजसम्म साम्राज्ञीले युटुबमा एउटा मात्र भिडियो अपलोड गर्न सकेकी छिन् । साम्राज्ञीले आफ्नी आमा नेहा आर एल शाहको मेकअपको समयको भिडियो युटुबमा पोष्ट गरेकी छिन् । यसपछि, उनले आफ्नो च्यानललाई सक्रिय रुपमा संचालन गर्न सकेको देखिदैन ।


नायिका आँचल शर्माले ३ महिना अगाडि आफ्नै नाममा युटुब च्यानल संचालनमा ल्याएकी थिइन् । उनले युटुबमा आफ्नो बिहेका विभिन्न क्षणका भिडियोहरु पोष्ट गरेकी छिन् । ९ हजार भन्दा बढी सब्सक्राइब भएको उनको च्यानलमा ५ वटा मात्र भिडियो पोष्ट भएका छन् ।


नायिका स्वेता खड्काले पनि केही समय अगाडि मात्र एउटा म्यूजिक भिडियो अपलोड गर्दै युटुब च्यानल संचालनमा ल्याएकी थिइन् । यस्तै, नायक पल शाहकी बहिनीले पनि पल शाहका विभिन्न गतिविधीलाई समेटेर युटुब च्यानल संचालनमा ल्याएको केही महिना भयो ।


सांगीतिक क्षेत्रका धेरै गायकगायिका तथा मोडलहरु आफ्नो गीत सार्वजनिक गर्नका लागि आफ्नो नाममा युटुब च्यानल संचालनमा ल्याउने गरेका छन् । तर, नेपाली चलचित्रका कलाकारहरुले भने विशेषगरि आफ्ना बारेमा विभिन्न सामाग्री पस्कन, आफ्नो मनमा लागेका कुरा व्यक्त गर्न युटुब च्यानल चलाएका छन् । उसो त, कलाकारहरु हरेक ठाउँमा देखिएर आफ्नो स्टारडम कमजोर बनाउन हुदैन भनिन्छ । तर, केही नेपाली चलचित्रका कलाकारहरुले भने युटुबलाई आफ्नो प्रचार र आम्दानीको राम्रै श्रोत बनाएको देखिन्छ ।
 


प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post