KhabarSanchar

सगरमाथाको चुचुरोतर्फ लाग्याे बहराइनका राजकुमारको टोली

 


काठमाडौं, बैसाख २४ गते  यस वर्षको पर्वतारोहणका भीआइपी आरोही बहराइनका राजकुमार मोहम्मद हामद मोहम्मद अल खलिफाको टोली सगरमाथा आरोहणका लागि चुचुरोतर्फ लागेका छन् ।

 राजकुमार खलिफा सहित दुई दर्जन आरोही विहीबार राती चुचुरोतर्फ बाटो लागेका हुन् ।


वैशाख २८ गते चुचुरोमा पुग्ने लक्ष्य लिएर तीस जना शेर्पा गाइडसहित टोली चुचुरोतर्फ लागेको आरोहण सरदार टासिलाक्पा शेर्पाले जानकारी दिनुभयो । सेभेन समिट ट्रेकले राजकुमारको टोलीलाई आरोहण सम्पन्न गराउने गरी आरोहणको व्यवस्थापन गरेको छ । गत वर्ष मात्र खालिफाले लबुचे पिक र मनास्लु हिमालको सफल आरोहण सम्पन्न गरी सकेकाले सगरमाथा आरोहण गर्न कुनै वाधा नपुग्ने सरदार शेर्पाले बताउनुभयो ।


समुद्री सतहमा वसोवास गर्ने खलिफा पर्वतारोहण गर्न रुचाउने भएकाले गत वर्षको हिउँदमा लकडाउनकै बीचमा आएर हिमाल आरोहण सम्पन्न गरी फर्कनुभएकाे थियाे । 

यस वर्ष ४४ आरोहण दलबाट ४०८ जना आरोहीले सगरमाथा आरोहण अनुमति लिएर तयारी अवस्थामा आधार शिविरमा बसेका छन् । पर्यटन विभागका अनुसार सगरमाथा आरोहण गर्ने यो आरोहीको सङ्ख्या हालसम्मकै उच्च भएको बताएका छन् ।


आरोहीमध्ये ३१५ पुरुष, ९२ जना महिला र एक जना तेस्रो लिंगी आरोही छन । सगरमाथाबाट मात्र यो सिजनमा ४९ करोड ६१ लाख ३१ हजार ७८७ रुपैयाँ राजस्व सङ्कलन भएको विभागको तथ्याङ्क छ ।
 


प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post