कोरोना सङ्क्रमित बिरामीको उपचार हुँदै आएको
बाँकेका अस्पतालमा मृत्युदर ह्वात्तै घटेको छ । दैनिक १५ देखि १७ जनाको मृत्यु
हुने गरेकामा अहिले ह्वात्तै घटेको छ ।
गएरातिदेखि आज बिहानसम्म चार जनाको मृत्यु भएको छ
। मृत्यु हुने सबै बाहिरी जिल्लाका रहेका छन् भने पछिल्लो २४ घण्टामा बाँकेका
बिरामीको मृत्यु शुन्य रहेको छ ।
अस्पतालमा अहिले भर्ना हुने बिरामी र मृत्यु हुने
अधिकांश बाहिरी जिल्लाका सङ्क्रमित रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका
स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।
उनका अनुसार कोरोना सङ्क्रमणबाट हालसम्म बाँकेका
२८८ को मृत्यु भएको छ भने विभिन्न बाहिरी जिल्लाबाट यहाँका अस्पतालमा उपचारका लागि
आएका २७९ को उपचारका क्रममा मृत्यु भएको छ ।
पछिल्लो पटक गएरातिदेखि आज बिहानसम्म यहाँका
अस्पतालमा भर्ना भएका दाङ, बर्दिया र सल्यानका चार कोरोना सङ्क्रमितको
मृत्यु भएको छ । शिक्षण अस्पताल कोहलपुरमा उपचाररत तुलसीपुर उपमहानगरपालिका वडा नं
४ निवासी ४२ वर्षीया महिलाको गएराति ११:०० बजे मृत्यु भएको छ ।
यसैगरी भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएका
बर्दिया बाँसगढी नगरपालिका– ३ निवासी ४२ वर्षीय पुरुषको आज बिहान ३:३० बजे, सल्यान बागचौर
नगरपालिका– ८ निवासी ६१ वर्षीय पुरुषको बिहान ५:३० बजे र बर्दिया बढैयाताल गाउँपालिका–
५ निवासी ५८ वर्षीया
महिलाको आज बिहान ६:४५ बजे मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत
व्यक्ति वलीले जानकारी दिए ।
Post a Comment