काठमाडौँ, जेठ ११ गते । कोरोना सङ्क्रमणका कारण अभौतिक (भर्चुअल)
गतिविधि बढ्दा त्यसको प्रत्यक्ष प्रभाव मोबाइल आयातमा देखिएको छ । भन्सार विभागका
अनुसार चालू आर्थिक २०७७/७८ को वैशाखसम्म नेपालले अहिलेसम्मकै सबैभन्दा धेरै
मोबाइल आयात गरेको छ ।
तथ्याङ्कअनुसार १०
महिनाको अवधिमा मात्रै नेपालले ३२ अर्ब नौ करोड रुपियाँ बराबरका ६३ लाख ५५ हजार
थान मोबाइल आयात गरेको छ । मोबाइल आयातबाटै नेपालले पाँच अर्ब रुपियाँभन्दा बढी
भन्सार राजस्व प्राप्त गरेको छ । जब कि अघिल्लो आवको सोही अवधिमा १४ अर्ब ६८ करोड
रुपियाँको मोबाइल आयात भएको थियो ।
तुलात्मक रूपमा
यसअघि आव २०७४/७५ को वैशाखसम्म सबैभन्दा धेरै २१ अर्ब १७ करोड रुपियाँको मोबाइल
आयात भएको तथ्याङ्क छ । चालू आवमा भने मोबाइल आयातको यसअघिको सबै ‘रेकर्ड’ तोडिएको हो ।
उच्च सङ्ख्यामा
मोबाइल आयात हुँदा नेपालले धेरै आयात गर्ने वस्तुहरूको सूचीमध्ये मोबाइल चौथो
स्थानमा परेको छ । मोबाइलभन्दा धेरै आयात हुनेमा डिजेल, अर्धप्रशोधित फलामका उत्पादन, कच्चा भटमास रहेका
छन् । विभागको तथ्याङ्कअनुसार वैशाखसम्म यी वस्तुको आयात क्रमशः ७० अर्ब, ५७ अर्ब र ३७ अर्ब
रुपियाँ नाघेको छ । मोबाइलपछि सबैभन्दा धेरै एलपी ग्यासको आयात भएको देखिन्छ । जुन
२९ अर्ब ५१ करोड रुपियाँको आयात भएको तथ्याङ्क छ ।
निर्यात एक खर्ब नाघ्यो
चालू आवको १०
महिनामै नेपालको निर्यात एक खर्ब नाघेको छ । नेपालको अन्तर्राष्ट्रिय व्यापारको
इतिहासमा एक खर्ब नाघेको पहिलो पटक हो । भन्सार विभागका अनुसार वैशाखसम्म नेपालले
एक खर्ब आठ अर्ब रुपियाँभन्दा बढीको मालवस्तु निर्यात गरेको छ । अघिल्लो आवको
वैशाखको तुलनामा यो ३२.१९ प्रतिशतले बढी हो । त्यतिबेला नेपालको निर्यात करिब ८२
अर्ब रुपियाँ थियो ।
वि. सं. २०६४ मा
नेपालको निर्यात एक खर्ब पु-याउने सरकारको लक्ष्य करिब डेढ दशकपछि पूरा भएको हो ।
चालू आवमा नेपालको निर्यात एक खर्ब नघाउन भटमास तेलको महत्वपूर्ण योगदान छ । वैशाखसम्म नेपालले ३५
अर्ब ७५ करोड रुपियाँ बराबरको भटमासको तेल निर्यात गरेको छ तर ठूलो परिमाणमा कच्चा
भटमास ल्याएर नेपालमा प्रशोधनमार्फत मूल्य अभिवृद्धि गरी निर्यात हुँदै आएकाले
यसको दिगोपनको सन्दर्भमा भने आशङ्का हुने गरेको छ ।
भटमासको तेलपछि पाँच
अर्ब ९० करोड रुपियाँको अलैँची निर्यात भएको छ । त्यसपछि तीन अर्ब २२ करोडको
गलैँचा, तीन
अर्ब एक करोडको ऊनी कपडा र तीन अर्बको कालो चिया मुख्य निर्यात भएका वस्तुहरू
रहेका छन् ।
निर्यातले एक खर्बको
सीमा पार गरे पनि आयात पनि उत्तिकै चुलिएको छ । गत आवको तुलनामा चालू आवमा २२.३४
प्रतिशतले आयात बढेर १२ खर्ब ५४ अर्ब रुपियाँ नाघेको छ । यसले व्यापार घाटाको आकार
२१.४८ प्रतिशतले बढेर ११ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ ।
Post a Comment