काठमाडौँ, वैशाख २७ गते । ६० प्रतिशत नेपाली र ४० प्रतिशत भारतीय
तरकारी तथा फलफूलले कब्जा जमाएको कालीमाटी फलफूल तथा तरकारी बजारमा ५० प्रतिशतले
बिक्री घटेको छ ।
कृषि तथा पशुपन्छी
विकास मन्त्रालयअन्तर्गत रहेको कालीमाटी फलफूल तथा तरकारी बजार समितिद्वारा
सञ्चालित सो बजारमा थोक तथा खुद्रा उपभोक्ता जान छाडेपछि बिक्री घटेको समितिका
कार्यकारी निर्देशक विनोद भट्टराईले बताउनुभयो ।
“निषेधाज्ञा सुरु
भएको दुई/तीन दिन सामान्य समयभन्दा बढी बिक्री वितरण भएको थियो । त्यसपछि घट्दै
गयो, अहिले
आधामा झरेको छ,” उहाँले भन्नुभयो, “आवागमन कम भयो, होटेल पार्टी प्यालेस बन्द भए र थुप्रै
मान्छे काठमाडौँ छाडेर हिँडिसकेकाले एकाएक बिक्रीमा कमी आएको छ । ”
पहिला दैनिक करिब नौ
सय मेट्रिक टन तरकारी तथा फलफूल बिक्री हुन्थ्यो, अहिले चार सय मेट्रिक टनमा झरेको छ,
उहाँले बताउनुभयो ।
बिक्री वितरण कम हुँदा यसको सीधै असर किसानमा पर्छ । पोखरा, चितवन, बाँकेलगायतका जिल्लामा उत्पादन भएका
तरकारी बिक्री नहुँदा खेतमै
कुहिरहेका छन् ।
तरकारीको मुख्य
बिक्री केन्द्र कालीमाटीलगायत बल्खु, बागबजारको टुकुचा, बानेश्वर, तीनकुने, शान्तिनगर, जडीबुटी, च्यासललगायतका तरकारी बजारमा पनि बिक्री ह्वात्तै
घटेको छ । बजारमा उपभोक्ता नै नआएपछि व्यापारीले पनि तरकारी ल्याउन छाडेको
कार्यकारी निर्देशक भट्टराईले बताउनुभयो । व्यापारीले जति बिक्री हुन्छ त्यति नै
बजारमा ल्याइरहेका छन् ।
किसानको खेतबाट
व्यापारीले तरकारी नै उठाइरहेका छैनन् भने किसानले पनि यो कोरोनामा जोखिम लिन
नचाहेको उहाँले बताउनुभयो । बल्खु तरकारी तथा फलफूल बजारका सञ्चालक मोहनकुमार
बस्नेतले भन्नुभयो, “यहाँ ६० प्रतिशत बिक्री कम भयो । बजारमा तरकारीको अभाव छैन, ग्राहकको अभाव भयो ।
”
चितवनका किसान
चन्द्र अधिकारीले भन्नुभयो, “पहिलो चरणको कोरोनाको समयमा निकै दुःख पाइयो ।
थुप्रै घाटा भयो भनेर यसपालि थोरैथोरै तरकारी लगायौँ, त्यो पनि बिक्री हुन गाह्रो भइरहेको छ । ”
बिक्री नभएका तरकारी
खेतमै छन्, केही तरकारी शीतभण्डारमा पनि राखेको बताउँदै उहाँले एक त उपभोक्ता
छैनन् अर्कोतिर बजारसम्म लान ढुवानीको पनि समस्या भइरहेको बताउनुभयो । त्यस्तै
समस्या किसानहरू अर्जुन श्रेष्ठ, कृष्ण देवकोटा, मनबहादुर शाही, कृष्ण घिमिरेको पनि रहेको छ ।
आलु, प्याज, लसुन, अदुवालगायतका
वस्तुलाई शीतभण्डारमा पनि राख्न सकिन्छ तर हरियो तरकारी बिक्री भएन भने
याल्नुबाहेक अरू कुनै उपाय नरहेको उहाँहरू बताउनुहुन्छ । बाँकेका किसान विनोद
भुसालले खेतमा फलेको गोलभेँडा बजारसम्म लग्न नसकेपछि खेतीमै कुहेको बताउनुभयो ।
गोलभेँडा बिक्री नहुँदा १० लाख घाटा भएको उहाँले बताउनुभयो । समितिका अनुसार अहिले
कालीमाटी तरकारी बजारमा ६० प्रतिशत नेपाली उत्पादन र ४० प्रतिशत भारतीय उत्पादन
आउने गरेको छ । बोडी, सिमी, घिरौँला, लौकालगायत मौसमी तरकारी नेपाली उत्पादनका आएका छन् भने भारतबाट माछा,
कागती, आलु र प्याज आउने
गरेको छ ।
समितिले स्थानीय
तहसँगको समन्वयमा जुनसुकै समयमा कालीमाटीमा तरकारी ल्याउनसक्ने व्यवस्था मिलाएको छ
तर खरिद बिक्रीका लागि भने राति १:०० देखि बिहान ९:०० बजेसम्मको समय तोकेको छ ।
Post a Comment