KhabarSanchar

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने तीन जना पक्राउ


नेपालगञ्ज, जेठ १४ गते । भेरी अस्पतालका नर्स र चिकित्सकमाथि आक्रमण गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार घटनामा संलग्न रहेको आरोपमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई पक्राउ गरिएको छ ।


बिहीबार राती कोरोना संक्रमित डिल्ली रावतको उपचारका क्रममा भेरी अस्पतालमा निधन भएपछि उनका आफन्तहरुले अस्पतालमा तोडफोड गर्नुका साथै नर्स र चिकित्सकमाथि सांघातिक आक्रमण गरेका थिए ।


बाँकेका प्रहरी प्रमुख एसपी ओम रानाले स्वास्थ्यकर्मीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका मानबहादुर मृतकका भाइ हुन् भने बाँकी दुइ जना मृतकका छोराहरू रहेको बताउनुभयो । उहाँले उनिहरुका बारेमा अनुसन्धान भैरहेको बताउनुभयो । यसैविच दोषीहरुलाई कडा कारवाहीको माग गर्दै भेरी अस्पतालका सम्पुर्ण स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन् ।


उनिहरुले काम छोडेर अस्पतालको प्रांगणमा भेला भै दोषीलाई कारवाही र आफ्नो सुरक्षाको माग गर्दै नाराबाजी गरिरहेका छन् । माग पुरा नभएसम्म काममा नफर्किने भेरी अस्पताल स्वास्थ्यकर्मीसंघका अध्यक्ष होमनाथ सुवेदीले बताउनुभयो ।


छिटो माग पुरा नगरिए जिल्ला भरिकै स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिने चेतावनी समेत उहाँले दिनुभयो । अस्पतालको कोभिड कक्षमा तोडफोड गर्दै मृतकका आफन्तले ज्यान मार्ने शैलीमा आक्रमण गर्न थालेपछि चिकित्सक तथा नर्ससहित चार जनाले एकतला माथिबाट हामफालेर ज्यान बचाएका थिए ।


सो घट्नाले स्वास्थ्यकर्मीको मनोबल घटाएको जनाउँदै देशभरिनै कडा निन्दा र भत्र्सना भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post