KhabarSanchar

कोरोना खोप दिने विषयमा आन्दोलित ट्यांकर चालकसंग सरकारको सहमति, आन्दोलन फिर्ता

 


१ असार, काठमाडौं । कोरोनाविरुद्धको खोप दिन सरकार सहमत भएपछि इन्धन ढुवानी गर्ने ट्यांकरका चालकहरुको आन्दोलन फिर्ता भएको छ ।नेपाल आयल निगम र  नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच भएको वार्तामा ट्यांकर चालकलाई बुधबारदेखि खोप उपलब्ध गराउने सहमति भएको छ । बुधबारबाट एपीएफ अस्पताल बलम्बुमा खोप लगाउने सहमति भयो र हामीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छौं,’ संघका अध्यक्ष ईश्वर लामाले बताए ।


उनका अनुसार बागमती प्रादेशिक डिपो कार्यालय थानकोटका ट्यांकर चालक र सहचालकलाई निगमले उपलब्ध गराएको परिचयपत्रको आधारमा खोप लगाउने सहमति भएको छ । सहमतिअनुसार थानकोट डिपो र त्यहाँबाट प्रदेशभरि तेल ढुवानी गर्ने ९०० जना चालक तथा सहचालकले कोरोना खोप पाउनेछन् ।


यस्तै अमलेखगञ्जका झण्डै १ हजार ४०० चालकसहचालकलाई उतै खोप दिने सहमति भएको लामाले बताए ।


आन्दोलित ट्यांकर चालक तथा सहचालकलाई खोप लगाउने विषयमा सहमति भएको र केहीबेरमा विस्तृत विवरण सार्वजनिक हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । कोरोनाविरुद्धको खोप नपाएको भन्दै नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आह्वानमा बागमती प्रदेशभर आइतबारदेखि पेट्रोलियम पदार्थको ढुवानी अवरुद्ध गरिएको थियो ।
 

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post