कोरोना रोकथाम तथा नियन्त्रणबारे थप निर्णय
गर्नका लागि मंगलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको बैठक बस्दैछ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बस्ने बैठकमा पहिलो चरणमा जारी गरिएको
निषेधाज्ञाको समीक्षाका साथै कोरोना नियन्त्रणका सम्बन्धमा थप निर्णय लिइने
बताइएको छ ।
उपत्यकामा कोरोनाको संक्रमणदर तीव्र बनेपछि गत
वैशाख १६ गतेदेखि बुधबार मध्यरातसम्म लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको छ भने
अब फेरि एक साता समय थप गर्ने तयारी भएको छ । निषेधाज्ञाका लागि यसअघि नै
मन्त्रिपरिषद् बैठकले मार्गप्रशस्त गरिसकेको छ । यसो त निषेधाज्ञाका बीच पनि
मानिसहरुको आवातजावत र यातायातका साधनको भीडभाड सडकमा देखिएको भन्दै यसलाई थप कडाइ
गर्ने तयारी भएको छ ।
यस्तै हाल बेलुका र
बिहान दुई समय खाद्य पसर र डिपार्टमेन्टल स्टोरहरु सञ्चालनको अनुमति दिइएकामा अब
बिहानको समयमा मात्रै सञ्चालन गर्न दिनेगरी निर्णय हुने बताइएको छ ।
सरकारले आन्तरिक र अन्तराष्ट्रिय उडान सञ्चालनमा
रोक लगाइसकेको सन्दर्भमा उपत्यका भित्रिने नाकाहरुमा पनि कडाइ गर्नेगरी छलफल भएको छ । यी सबै
विषयमा आजको बैठकले निर्णय लिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद
पराजुलीले जानकारी दिए ।
यसैबीच ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी
प्रसाद निरौलालाई कोरोना संक्रमण पुष्टि भएको छ । आफूमा कोरोना संक्रमण पुष्टि
भएकाले आजको बैठकमा आफ्नो भौतिक उपस्थिति नरहने निरौलाले जानकारी दिए । ‘प्रविधिको
प्रयोगमार्फत बैठकमा मेरो उपस्थिति हुनेछ, भौतिक रुपमा सहायक प्रमुख जिल्ला अधिकारीको
सहभागिता रहनेछ’, उनले भने । उनी अहिले आइसोलेशनमा रहेका छन् ।
Post a Comment