काठमाडौँ, जेठ ४ गते । त्रिभुवन विश्वविद्यालयले वार्षिक परीक्षा
प्रणालीमा अध्ययनरत विद्यार्थीको कक्षासमेत अनलाइन माध्यमबाट सञ्चालन गर्न सुरु
गरेको छ । निर्धारित समयमा परीक्षा लिन नसके पनि विद्यार्थीको समय सदुपयोग गर्ने
उद्देश्यले वार्षिक रूपमा अध्ययन गर्ने विद्यार्थीलाई अनलाइन माध्यमबाट जोडिएको हो
तर अनलाइनमा सीमित मात्र जोडिएका छन् ।
विश्वविद्यालयका
परीक्षा नियन्त्रक पुष्पराज जोशीले स्नातक तहको वार्षिक परीक्षा सञ्चालन गर्न
नसकिए पनि अनलाइन कक्षा सुरु भएको जानकारी दिनुभयो । विश्वविद्यालयमा हाल स्नातक
तह प्रथम वर्षका दुईवटा समूह हुँदा असजिलो महसुस भएको छ । पुरानो पहिलो वर्षको
परीक्षा कोरोना भाइरसका कारण अन्तिम समयमा आएर स्थगित गरिएको छ । स्नातक तहका नयाँ
विद्यार्थीले भने फागुन अन्तिम साताबाट भर्ना भएर पठनपाठन सुरु गरेका छन् ।
विश्वविद्यालयले
यसअघि सेमेस्टर प्रणालीमा अध्ययन गर्ने विद्यार्थीको मात्र अनलाइन माध्यमबाट कक्षा
सञ्चालन गरे पनि अब सबै विद्यार्थीलाई समेटिएको जनाइएको छ । पुरानो पहिलो वर्षमा
अध्ययन गर्ने विद्यार्थीलाई दोस्रो वर्षको कक्षा सञ्चालन गरिएको जनाइएको छ । पहिलो
वर्षको परीक्षा दिन नपाए पनि समयको सदुयपोग होस् भन्ने हिसाबले दोस्रो वर्षको
पठनपाठनमा जोडिएको जानकारी नियन्त्रक जोशीले दिनुभयो ।
पुराना स्नातक तह
प्रथम वर्षका विद्यार्थी भर्ना भएको १९ महिना भइसकेको छ । यस हिसाबले उनीहरूको समय
खेर जाने अवस्था रहेको जनाइएको छ । दोस्रो वर्षमा अध्ययनरत ती विद्यार्थी उपयुक्त
समय आएलगत्तै पहिलो वर्षको परीक्षामा सहभागी हुनेछन् । नयाँ भर्ना भएका
विद्यार्थीको पनि अनलाइन कक्षा सुरु गरिएको जनाइएको छ ।
महिना दिनको समय दिएर परीक्षा
विश्वविद्यालयले हाल
स्थगित भएका विद्यार्थीको परीक्षा सङ्क्रमण सामान्य भएपछि एक महिनाको समय दिएर
गरिने जनाएको छ । सङ्क्रमणले कति समय असर गर्छ भन्ने कुरा यकिन गर्न नसकिने भएकाले
अवस्था सामान्य भएलगत्तैै परीक्षा लिने र त्यसको तयारी भइरहेको जनाइएको छ । सामाजिक
दूरी कायम गरेर परीक्षा लिने विश्वविद्यालयको योजना छ ।
अनलाइनबाटै स्नातकोत्तर भर्ना
यसैबीच
विश्वविद्यालयले स्नातकोत्तर तहमा अनलाइन माध्यमबाट विद्यार्थीको नयाँ भर्ना
प्रक्रिया सुरु गरेको छ । यस क्रममा विज्ञान तथा शिक्षाशास्त्र सङ्कायले
अनलाइनबाटै भर्नाको तयारी सुरु गरिसकेका हुन् । विज्ञान सङ्कायले जेठभरि फाराम
भरेर असारमा प्रवेश परीक्षा सञ्चालन गर्ने भएको छ । मानविकी तथा व्यवस्थापनमा
परीक्षाफल प्रकाशन हुन बाँकी रहेकाले भर्ना खुल्न सकेको छैन ।
मानविकी सङ्कायमा
स्नातक तह तेस्रो वर्ष तथा व्यवस्थापनमा चौथो वर्षको नतिजा प्रकाशन हुन सकेको छैन
। परीक्षा सकेर उत्तरपुस्तिका सङ्कलन गर्दाकै अवस्थामा बन्दाबन्दी गर्नु परेकाले
समस्या भएको जोशीले बताउनुभयो । ती दुवै तहको परीक्षाफल छिटो प्रकाशन गर्ने तयारी
भइरहेको जनाइएको छ ।
Post a Comment