KhabarSanchar

१० महिनामा विकास बजेट ३६ प्रतिशत मात्र खर्च

 



२ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को १० औं महिना (साउन-वैशाख)  पुरा भएको छ । यसअविधमा विकास (पुँजीगत) खर्च भने करिब ३६ प्रतिशत मात्रै छ ।


यसले यो वर्ष पनि नेपालको आर्थिक वृद्धि र पुँजी वृद्धि प्रभावित हुने निश्चित भएको छ । खासगरी यो वर्ष सम्पन्न हुने भनिएका राष्ट्रिय गौरवका आयोजना समेत कोरोना महामारीका कारण पछाडि धकेलिएसँगै विकास बजेट प्रभावित बनेको हो ।


महालेखा नियन्त्रक कार्यालयका अनुसार वैशाख मसान्तसम्म १ खर्ब २५ अर्ब ७७ करोड रुपैयाँ विकास बजेट खर्च भएको छ । यो कुल लक्ष्यको ३५.६४ प्रतिशत हो ।


यो वर्ष सरकारले ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ विकास बजेट खर्च गर्ने लक्ष्य राखेको थियो । यो वर्ष वैशाखको प्रारम्भबाटै विभिन्न जिल्लामा प्रतिवन्ध शुरु भयो । त्यसको असर विकास निर्माण र बजेट खर्चमा परेको छ ।


महालेखा नियन्त्रक कार्यालयका अनुसार वैशाख मसान्तसम्म कुल बजेट खर्च ५५.९३ प्रतिशत भएको छ । यो वर्ष सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट कार्यान्वयन गरिरहेको छ । वैशाखसम्म ८ खर्ब २४ अर्ब ७९० करोड रुपैयाँ  बजेट खर्च भएको छ ।


यसमध्ये ६ खर्ब ३० अर्ब २१ करोड रुपैयाँ भने चालु खर्च हो । चालु खर्च लक्ष्यको ६६.४१ प्रतिशत खर्च भइसकेको छ । चालु खर्चभित्र स्थानीय तह र प्रदेशमा जाने अनुदान समेत पर्छ ।


जुन ती सरकारहरुले पुँजीगत काममा समेत खर्च गर्न सक्छन् । यो अवधिमा वित्तीय व्यवस्थातर्फ ३९.७७ प्रतिशत खर्च प्रगति देखिएको छ ।


राजस्व लक्ष्यको नजिक
यो वर्ष सरकारले तुलनात्मक रुपमा राजस्वको लक्ष्य भने सन्तुलित राखेको थियो । यसको प्रभाव संकलनमा समेत देखिएको छ ।
वैशाख मसान्तसम्म ७ खर्ब ६१ अर्ब १ करोड राजस्व उठेको छ । यो लक्ष्यको ७५.२२ प्रतिशत प्रगति हो । सरकारले यो वर्ष १० खर्ब ११ अर्ब ७५ करोड राजस्व संकलनको लक्ष्य राखेको छ ।


त्यसलाई अर्धवाषिर्क समिक्षाबाट ९५ प्रतिशत प्रगति हुने संशोधित अनुमान छ । उक्त अनुमान अनुसार राजस्व भने संकलन हुने अपेक्षा अर्थ मन्त्रालयको रहेको छ ।


निषेधाज्ञाको समयमा पनि आयात-निर्यात प्रभावित नभएको र उद्योग धन्दा संचालनमा समेत अघिल्लो वर्ष जस्तो कडाई नभएका कारण यो वर्ष राजस्व संकलन प्रभावित नहुने विश्वास सरकारको छ ।


यस्तो छ १० महिनामा खर्च र राजस्व प्राप्तिको अवस्था
चालु खर्च : ६ खर्ब ३० अर्ब २१ करोड (६६.४१ प्रतिशत)
पूँजिगत खर्च : १ खर्ब २५ अर्ब ७७ करोड (३५.६४ प्रतिशत)
वित्तीय व्यवस्था : ६८ अर्ब ७२ करोड (३९.७७ प्रतिशत)
कुल : ८ खर्ब २४ अर्ब ७० करोड (५५.९३ प्रतिशत)


राजस्व संकलन
कर राजस्व : ७ खर्ब ९ अर्ब ६३ करोड (७७.७३ प्रतिशत)
गैरकर राजस्व : ५१ अर्ब ३८ करोड (५२ प्रतिशत)
कुल : ७ खर्ब ६१ अर्ब १ करोड (७५.२२ प्रतिशत)
 

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post