काठमाडौँ, वैशाख ३० गते । यसपालिको मनसुन
अवधिमा सरदरभन्दा बढी पानी पर्ने आकलन गरिए पनि हालको प्रि–मनसुनमा राम्ररी पानी नपर्दा खडेरी भयो ।
वर्षाको अभावले डढेलो फैलिँदा जनजीवन नै प्रभावित बनाएको थियो । कतिपय जङ्गलमा
लागेको डढेलो हेलिकोप्टरबाट पानी लगेर निभाउनुपरेको थियो तर पछिल्ला केही सातादेखि
भने मुलुकका अधिकांश भेगमा वर्षा भइरहेको छ । त्यसले डढेलोसमेत नियन्त्रणमा आएको छ
।
ठाउँठाउँमा असिना, हावाहुरी र चट्याङसहितको पानी परिरहँदा
केही स्थानमा क्षतिसमेत पुगेको छ । लामो समयदेखि आकाशे पानीको अभाव भइरहेको
अवस्थामा परेको अहिलेको वर्षाले कृषि क्षेत्रलाई भने केही फाइदा भएको राष्ट्रिय
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल
पोखरेल बताउनुहुन्छ । उहाँका अनुसार चट्याङले भने मानवीय क्षति गराइरहेको छ । यही
वैशाखमा मात्रै चट्याङ लागेर २१ जनाको मृत्यु भएको छ ।
काठमाडौँ उपत्यकामा पनि गए राति र आज बिहान पानी
परेको थियो । यो क्रम केही दिनदेखि जारी छ । रातिको भन्दा अहिले पानी पार्ने मौसम
प्रणाली केही कमजोर रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । दिउँसो अर्काे
प्रणाली विकास भएर पुनः पानी पर्ने सम्भावना कायमै रहेको मौसमविद्को भनाइ छ ।
हाल नेपालमा बङ्गालको खाडीबाट प्रवाह हुने
जलवाष्पयुक्त हावाको प्रभाव छ । यस्तै सुदूरपश्चिममा विकास भएको पश्चिमी
न्यूनचापीय प्रणाली र दक्षिण–पूर्व भूभाग नजिक रहेको पूर्व–पश्चिम फैलिएको
न्यूनचापीय रेखाका कारण नेपालमा पानी परिरहेको हो । उक्त प्रणाली पूर्वसम्म
पुगेकाले अधिकांश भूभागमा सामान्य बदली रही गण्डकी तथा वाग्मती प्रदेशका केही र
बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा
भइरहेको छ ।
आज बिहान पानी परेर केहीबेर रोकिए पनि दिउँसो
फेरि नयाँ प्रणालीको विकास भई ठाउँठाउँमा वर्षा हुने जल तथा मौसम विज्ञान विभाग
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु वासीले जानकारी दिनुभयो । आज देशभर
सामान्य बदली रहनेछ । देशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम
वर्षा हुने छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा केही बढी वर्षाको सम्भावना
रहेको उहाँले जानकारी दिनुभयो ।
राति भने प्रदेश नं १ सहित देशका पहाडी भूभागमा
सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली हुनेछ । सुदूरपश्चिम प्रदेश र लुम्बिनी
प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सभावना छ । शुक्रबार पनि प्रदेश नं १ र अन्य
पहाडी भूभागमा बदली भई केही भागमा पानी पर्नेछ । शनिबारबाट भने यो प्रणाली हराएर
केही खुल्ने भए पनि पुनः अर्काे प्रणाली आउनसक्ने मौसमविद् वासीले जानकारी दिनुभयो
। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको
छ ।
जल तथा मौसम विज्ञान विभागले यसपालिको मनसुनको
समयमा मुलुकका धेरैजसो भूभागमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरिसकेको छ । गत
वर्ष सरदर पानी पर्ने भनिए पनि वर्षाका कारण ठूलो जनधनको क्षति पुगेको थियो ।
यसपालि भने सरदरभन्दा बढी पानी पर्ने आकलन गरिएकाले मनसुनका बेला विशेष सावधानी
अपनाउनुपर्नेमा पोखरेल जोड दिनुहुन्छ । गत वर्ष पहिरो गएको क्षेत्र र भूकम्पले
जोखिम बनाएको क्षेत्र बढी जोखिममा छ । त्यस्ता ठाउँमा सानो पानी पर्दैमा बाढी
पहिरोको सम्भावना अधिक हुने भएकाले मनसुनमा बढी सावधानी अपनाउनुपर्ने वरिष्ठ
मौसमविद् वरुण पौडेल बताउनुहुन्छ ।
हुन त अहिले मनसुन शुरु भएको छैन । मनसुन
शुरुपछिको अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती प्रदशेका अधिकांश स्थानमा तथा प्रदेश नं
१ को मध्य तथा पश्चिम पहाडी, हिमाली भूभागमा सरदरभन्दा बढी वर्षा हुने
सम्भावना छ । त्यहाँ ३५ देखि ६५ प्रतिशत वर्षा हुने अनुमान छ ।
उच्च हिमाली क्षेत्रमा भने ५५ देखि ६५ प्रतिशत
वर्षा (हिउँ) हुने आकलन गरिएको विभागको जलवायु विष्लेषण शाखा प्रमुख वरिष्ठ
मौसमविद् डा इन्दिरा कँडेलले जानकारी दिनुभयो । त्यसैले अहिलेदेखि नै क्षति कम
गर्नका लागि तयारी गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । यसपालि कोभिड–१९ को समेत जोखिम
बढ्दो क्रममा रहेकाले अझै मुलुक दोहोरो विपदबाट गुज्रने अवस्था देखिन्छ ।
Post a Comment