KhabarSanchar

सन्दीप ट्रिनवागो नाइट राइडर्समा अनुबन्ध

 


नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पीनर सन्दीप लामिछानेले २०२१ को क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-२० क्रिकेट नयाँ क्लबबाट खेल्ने भएका छन् ।


साबिक विजेता ट्रिनवागो नाइट राइडर्सबाट सन्दीपले नयाँ सिजन खेल्ने भएका हुन् । सीसीएलले मंगलबार सन्दीपले ट्रिनवागोबाट खेल्ने पुष्टि गरेको हो ।


ट्रिनवागोले गत सिजन उपाधि जितेको टिमका ११ खेलाडीलाई रिटेन गरिसकेको छ । जसमा स्पीनरहरु सुनिल नारिन, अखिल हुसेन र ख्यारी पिएरे पनि छन् ।


सन्दीपको अनुबन्धले ट्रिनवागोको स्पीन आक्रमण झन् बलियो बनेको छ । काएरन पोलार्डको कप्तानीमा रहेको टोलीमा जिम्बाव्वेका सिकन्दर राजा, अमेरिकाका अली खान र न्युजिल्याण्डका बलिन मनरो समेत छन् ।


ट्रिनवागो इन्डियन प्रिमियर लिग फ्रेन्चाइज कोलकता नाइट राइडर्सको टिम हो । कोलकताकै मालिक बलिउड स्टार शाहरुख खान, जे मेहता र जुही चावला यसका मालिक हुन् । यस्तै प्रशिक्षकमा ब्रेन्डन म्याकुलम छन् ।


यसअघि तीन फरक टोलीबाट सीपीएल खेलिसकेका सन्दीपलाई जमैका तल्हवाजले नयाँ सिजनअघि रिलिज गरेको थियो । त्यसअघि उनले सेन्ट किट्स एण्ड नेभिस र बार्बाडोस ट्रिडेन्ट्सबाट खेलिसकेका छन् ।


सन्दीपले गत सिजन १ खेल खेल्दै १२ विकेट लिएका थिए । सीपीएलको नवौं संस्करण अगष्ट २८ देखि सेप्टेम्बर १९ सम्म सेन्ट किट्स एण्ड नेभिसमा हुनेछ ।


सन्दीप इंग्ल्याण्डमा हुने भाइटालिटी टी२० ब्लास्ट र दी हन्ड्रेडका लागि पनि अनुबन्धित भएका छन् । भाइटालिटी जुन ९ देखि र दी हन्ड्रेड जुलाई २१ देखि सुरु हुनेछ ।


दुवै प्रतियोगितामा सन्दीप पहिलो पटक अनुबन्धित भएका हुन् । भाइटालिटी ब्लास्ट जुन ९ देखि सेप्टेम्बर १८ सम्म हुनेछ, जसमा लिग चरणका खेल जुलाई १८ सम्म हुनेछ ।


यदि सन्दीप आवद्ध टीम क्वाटरफाइनल पुगेमा सन्दीपले सीपीएलको सुरुवाती खेल गुमाउने सम्भावना छ । भाइटलिटी ब्लास्टको क्वाटरफाइनल अगष्ट २४ देखि २७ सम्म र सेमिफाइनल फाइनल सेप्टेम्बर १८ मा हुनेछ ।
यस्तै पहिलो पटक हुन लागेको दी हन्ड्रेड जुलाई २१ देखि अगष्ट २१ सम्म हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post