KhabarSanchar

माधवकुमार नेपाल लगायतका नेतामाथि गरिएको कारवाही फुकुवा गर्ने

 


कठमाडौं, वैशाख ३० गते नेकपा (एमाले) ले यसअघि पार्टीको तर्फबाट कारवाही गरेका चार नेताको कारवाही फुकुवा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज विहिबार बसेको बैठकले सो फुकुवा गर्ने निर्णय गरेको हो ।


स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङकाअनुसार यसअघि पार्टी हित विपरित काम र गतिविधि गरेको भन्दै नेता माधवकुमार नेपाल र भीमबहादुर रावललाई गत चैत १६ गतेको एमाले बैठकले ६ महिनाका लागि पार्टीबाट निलम्बन गर्ने निर्णय गरेको थियो । लगत्तै चैत १९ गते बसेको अर्को बैठकले नेता सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई ६ महिनाकै लागि नै निलम्बन गरेको थियो ।


निलम्बन गर्नुअघि पार्टीले चारैजना नेतालाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण चित्तबुझ्दो नआएपछि पार्टी विधान २०४९ को दफा ४९ ९ख० अनुसार निलम्बन गर्ने निर्णय गरेको थियो । पछिल्लो समय पार्टीको एकता संकटमा पर्ने देखिएपछि एकतालाई मजबुत गर्न पुनः चार जना नेता माथिको निलम्बन फूकुवा गर्ने निर्णय भएको नेता नेम्वाङले बताउनुभयो ।


प्रधानमन्त्री केपी शर्मा ओलीले २७ गते प्रतिनिधिभाबाट विश्वासको मत प्राप्त गर्न नसक्नु भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आज ३० गते साँझ ९ बजेभित्र दलीय हिसावमा सरकार गठनको आव्हान गर्नुभएको छ । नयाँ सरकार गठनमा नेता नेपाल पक्षले विपक्षी दललाई सहयोग गर्ने तयारी गरिरहेकाबेला उहाँहरुमाथिको कारवाही फुकुवा गर्ने निर्णय एमालेले गरेको हो ।
 

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post